Lumina
Matthew

The Sermon on the Mount: Beatitudes

Matthew 5·Nepali Bible

1येशूले त्यहाँ भएका धेरै मानिसहरूलाई देख्नु भयो। येशू डाँडामा उक्लेर बस्नुभयो। उहाँका चेलाहरू पनि उहाँको नजिक आएका थिए।

2उहाँले तिनीहरूलाई सिकाउन थाल्नुभयो। उहाँले भन्नुभयो,

3“ती मानिसहरू धन्य हुन् जसले आफूलाई आत्मिक रूपले दरिद्र छौं भनी बुझेका छन्, किनभने स्वर्गको राज्य तिनीहरूकै हो।

4धन्य शोक गर्नेहरू, किनभने परमेश्वरले तिनीहरूलाई सान्तवना दिनुहुनेछ।

5धन्य विनम्र हुनेहरू, किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्।

Matthew 5 illustration - Matthew Chapter 5

6धन्य धार्मिकताका निम्ति भोकाउने र तिर्खाउनेहरू, किनभने परमेश्वरले तिनीहरूलाई तृप्त पार्नु हुनेछ।

7धन्य अरू प्रति दया देखाउनेहरू किनभने तिनीहरूले दया पाउनेछन्।

8धन्य हृदयमा शुद्ध हुनेहरू, किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्।

9धन्य शान्ति मेल-मिलाप गराउनेहरू, किनभने परमेश्वरले तिनीहरूलाई आफ्ना पुत्र भन्नुहुनेछ।

10धन्य धार्मिकताको निम्ति सताइएकाहरू, किनभने स्वर्गका राज्य तिनीहरूकै हुनेछ।

Matthew 5 illustration - Matthew Chapter 5

11“धन्य हौ तिमीहरू जब मानिसहरूले तिमीहरूको निन्दा गर्नेछन् र खेदो गर्नेछन्। झूटो बोलेर हरेक किसिमका दुष्ट कुरा गरेर तिमीहरूको खेदो गर्नेछन्, किनभने तिमीहरू मेरा चेलाहरू हौ।

12सुखी र खुशी बन। स्वर्गमा तिमीहरूलाई ठुलो इनाम मिल्नेछ। किनभने तिमीहरूका अघिका अगमवक्तहरूलाई तिनीहरूले यसरीनै व्यवहार गरेका थिए।

13“तिमीहरू पृथ्वीका नून हौ। यदि नूनको स्वाद नै छैन भने, फेरि त्यसलाई नुनिलो के-ले पार्ने र? यदि नूनमा नूनको स्वाद नै छैन भने त्यो ता-फालिन र मानिसका खुट्टाले कुल्चनबाहेक अरू केही कामको हुँदैन।

14“तिमीहरू संसारका ज्योति हौ जसले संसारलाई उज्यालो पार्छ। डाँडामा बसालिएको नगर अदृष्य रहन सक्तैन।

15त्यसरीनै मानिसहरूले बत्ती बालेर पाथीमुनि राख्दैनन्। त्यसको सट्टामा तिमीहरूले त्यसलाई सामदानमा राख्छन्। यसरी घरमा भएका सबै मानिसहरूले उज्यालो पाउने छन्।

Matthew 5 illustration - Matthew Chapter 5

16त्यसै गिरी, अरूका निम्ति तिमीहरू पनि उज्यालो बनिदिनु पर्छ। तिमीहरूले गरेका सुकर्महरू मानिहरूले देख्नेछन् र स्वर्गमा बस्नु हुने तिमीहरूका पिताका महिमा गर्नेछन्।

17‘म मोशाको व्यवस्था अथवा अगमवक्ताहरूद्वारा लेखिएको अगमवाणी रद्द गर्न आएको भन्ने नसम्झ, रद्द गर्न होइन, तर पूरा गर्न म आएको हुँ।

18म साँचो भन्दछु, जबसम्म स्वर्ग र पृथ्वी बितेर जाँदैन, व्यवस्थाको हरेक कुरा पूरा हुनेछ सबै कुरा पूरा नहोउञ्जेल कुनै किसिमले व्यवस्थाबाट एउटा मात्रा वा एउटा बिन्दु पनि हटाइने छैन।

19हरेक मानिसले प्रत्येक आदेश पालन गर्नैपर्छ चाहे त्यो आदेश सामान्य नै किन नहोस्। यदि कुनै मानिसले एउटा पनि आदेश पालन गर्न चाँहदैन अनि अरूलाई पनि आदेश पालन नगर्नु भनी सिकाउँछ भने स्वर्गको राज्यमा त्यो सबैभन्दा तुच्छ ठहरिनेछ। तर जसले आदेश पालन गर्छ अनि अरूलाई पनि आदेश पालन गर्न सिकाउँछ, त्यो नै स्वर्गको राज्यमा ठूलो कहलाइनेछ।

20म भन्दछु धर्मशास्त्री र फरिसीहरूको भन्दा तिमीहरूले राम्रो काम गर्नु पर्छ। यदि तिमीहरूले तिमीहरूलाई उछिन्न सकेनौ भने तिमीहरूले स्वर्गको राज्यमा प्रवेश गर्न सक्नेछैनौ।

Matthew 5 illustration - Matthew Chapter 5

21“तिमीहरूले सुनेका छौ, प्राचीन समयकाहरूलाई यसो भनिएको थियो, ‘कसैको हत्या नगर्।जसले हत्या गर्छ, त्यो व्यवस्था समक्ष उभिनु पर्नेछ।’

22तर म तिमीहरूलाई भन्दछु, कोही अन्य मानिससित नरिसाओ। सबैजना तिम्रा भाइ हुन्। यदि तिमी अरू मानिससंग रिसाउँछौ भने, तिमी इन्साफको निम्ति खडा हुनु पर्नेछ। यदि तिमीले अर्को मानिससित नराम्रा कुरा गर्यौ भने तिमी यहूदीहरूको महासभाको समक्ष उभिनु पर्नेछ। यदि अर्को मानिसलाई ‘मुर्ख’ भन्छौ भने तिमी नरकको आगोमा फालिइनु पर्नेछ।

23“जब तिमीले परमेश्वरलाई भेटी चढाउछौ त्यसबेला तिमी अरूहरूलाई पनि सम्झ। यदि तिमीले वेदीमा भेटी चढाउँदा तिम्रो विरुद्धमा तिम्रो भाइको हृदयमा केही छ भन्ने सम्झ्यौ भने,

24त्यही वेदीको छेउमा तिम्रो भेटी छोड। पहिला तिमी फर्केर जाऊ अनि त्यो मानिससित मिलाप गर। त्यसपछि आफ्नो भेटी वेदीमा चढाऊ।

25यदि तिम्रो विरोधीले तिमीलाई न्यायालयमा लाँदैछ भने उसित मिलाप गरिहाल। न्यायलय पुग्नु अधिनै तिमीले यसो गर। यदि तिमी उसको साथी बन्न असफल भयौ भने उसले तिमीलाई न्यायाधीशको हातमा सुम्पिदेला, न्यायाधीशले तिमीलाई प्रहरीको हातमा सुम्पिदेलान् अनि तिमीलाई झ्यालखानामा थुनिदिनेछ।

Matthew 5 illustration - Matthew Chapter 5

26म तिमीलाई भन्दछु कि तिमीले ऋणको अन्तिम पैसा नतिरुञ्जेल तिमी त्यहाँबाट कुनै तरिकाले उम्कने छैनौ।

27“तिमीहरूले यसो भनेको सुनेकाछौ, ‘व्यभिचारको पापबाट अलग बस।’

28तर म तिमीहरूलाई भन्दछु, जसले स्त्रीलाई खराब इच्छाले हेर्दछ, त्यसले अघिबाटै उसित त्यसको हृदयमा व्यभिचार गरिसकेको हुन्छ।

29यदि तिम्रो दाहिने आँखाले तिमीलाई बाधा पुर्याउँछ भने, त्यसलाई निकालेर फालिदेऊ। किनभने तिम्रो सम्पूर्ण शरीर नरकमा पर्नु भन्दा बरु तिम्रा अङ्गहरूमध्ये एउटा नष्ट हुनु तिम्रो निम्ति हितकारी हुनेछ।

30यदि तिम्रो दाहिने हातले तिमीलाई पाप गराउँछ भने त्यसलाई काटेर फालिदेऊ। किनभने तिम्रो सम्पूर्ण शरीर नरकमा जानु भन्दा बरू तिम्रो अङ्गहरूमध्ये एउटा नष्ट हुनु तिम्रो निम्ति हितकारी हुनेछ।

Matthew 5 illustration - Matthew Chapter 5

31‘यसलाई यसप्रकारले भनिएको छ, ‘जसले आफ्नी पत्नीलाई त्याग गर्ला, त्यसले उसलाई त्यागपत्र लेखी देओस्।’

32तर म तिमीहरूलाई भन्दछु, जसले आफ्नी पत्नीलाई व्यभिचारको कारणबाहेक अन्य कारणले त्याग गर्ला, उसलाई त्यसले व्यभिचारिणी तुल्याउँछ, र जसले त्याग गरिएकोसित विवाह गर्ला, त्यसले पनि व्यभिचार गर्नेछ।

33“फेरि तिमीहरूले सुनेकाछौ, कि हाम्रा प्राचीन समयका पुर्खाहरूलाई यसो भनिएको थियो, ‘जब तिमी शपथ खान्छौ, त्यो प्रतिज्ञा नतोड। परमेश्वरको निम्ति आफ्नो प्रतिज्ञा पूरा गर।’

34तर म तिमीहरूलाई भन्दछु, स्वर्गको नाउँमा कसम वा प्रतिज्ञा खाँदै नखाऊ, किनभने स्वर्ग परमेश्वरको सिंहासन हो।

35पृथ्वीको नाममा पनि कसम नखाऊ, किनभने पृथ्वी परमेश्वरको पाउदान हो। यरूशलेमको नाउँमा कसम नखाऊ, किनभने त्यो महाराजाको शाहर हो।

Matthew 5 illustration - Matthew Chapter 5

36अनि आफ्नो शिरको कसम पनि नखाऊ, किनभने तिमी आफ्नो शिरको एउटा केशलाई पनि सेतो वा कालो तुल्याउन सक्दैनौ।

37यदि तिमी ‘हो’ भने ‘हो’ भन ‘होइन’ भने ‘होइन’ भन। यस भन्दा बढता चाहिं दुष्ट-तर्फबाट भएको हो।

38“तिमीहरूले सुनेकाछौ, यसो भनिएको थियो, ‘आँखाको बदला आँखा, र ‘दाँतको बदला दाँत।’

39तर म तिमीहरूलाई भन्दछु, ‘दुष्टको सामना नगर्। यदि कसैले तिम्रो दाहिने गालामा चट्काइदियो भने त्यसलाई देब्रे गाला पनि फर्काइदाओ।

40यदि कसैले मुद्दा चलाएर तिम्रो दौरा लीने दाबी गर्छ भने, त्यसलाई तिम्रो खाष्टो पनि दिइहाल।

Matthew 5 illustration - Matthew Chapter 5

41यदि कसैले तिमीलाई एक माइलसम्म जबरजस्त हिंडन लगाउँछ भने उसित दुईमाइलसम्म जाऊ।

42यदि कसैले तिमीसित केही माग्छ भने त्यो दिइहाल। कुनै व्यक्तिले कर्जा लिन चाहेमा पनि केही दिन अस्वीकार नगर।

43‘तिमीहरूले यसो भनिएको सुनेकाछौ, ‘तिम्रो छिमेकीलाई प्रेम गर र तिम्रो शत्रुलाई घृणा गर।’

44तर म तिमीहरूलाई भन्दछु, आफ्ना शत्रुहरूलाई प्रेम गर, तिमीहरूलाई खेदो गर्नेहरूको निम्ति प्रार्थना गर।

45यदि तिमीले यसो गर्यौ भने तिमी स्वर्गको पिताका साँचो पुत्र हुनेछौ। किनभने उहाँले दुष्ट र सज्जन दुवैका निम्ति घाम लगाइदिनुहुन्छ। अनि धर्मी र अधर्मीहरूको निम्ति वृष्टि पठाइदिनुहुन्छ।

Matthew 5 illustration - Matthew Chapter 5

46यदि तिमीहरूसँग प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्दछौ भने तिमीहरूले कनै इनाम पाउने छैनौ। महसूल उठाउनेहरूले पनि त्यसै गर्छन्।

47अनि यदि तिमीहरू आफ्ना साथी-भाइहरूलाई मात्र अभिवादन गर्छौ भने अरू मानिसहरूसँग असल ठहर्नेछैनौ। अरू परमेश्वरलाई नजान्ने मानिसहरू पनि आफ्ना साथीभाइहरूसँग असल नै हुन्छन्।

48यसैकारणले तिमीहरू सिद्ध होऊ, जसरी तिमीहरूका स्वर्गका पिता सिद्ध हुनुहुन्छ।

Chapter Complete

You have read Matthew 5

48 verses