Lumina
Genesis

Genesis 50

Genesis 50·Nepali Bible

1जब याकूबको मृत्यु भयो यूसुफ खुबै दुःखी भए। तिनले आफ्नो बाबुलाई अँगाले हालेर रूदै म्वाई खाए।

2यूसुफले आफ्ना सेवकहरूलाई आफ्नो बाबुको अन्तिम संस्कारको निम्ति तयार पार्न आज्ञा दिए। (ती सेवकहरू वैद्यहरू थिए।) ती वैद्यहरूले याकूबको शरीर अन्तिम संस्कारको निम्ति तयार पारे। तिनीहरूले याकूबको मृत शरीर मिश्र देशवासीहरूका विशेष नियम अनुसार तयार पारे।

3मिश्रीहरूले इस्राएलको लागि 70 दिन सम्म शोक गरे। तिनको शरीर तयार गर्ने समय 40 दिन भित्र पूरा भयो। शोकको पूरा समय पछि। यूसुफ फिरऊन कहाँ गए।

4सत्तरी दिनपछि शोक समय सकियो र यूसुफले फिरऊनका अधिकारीहरूसंग कुरा गरे। यूसुफले भने, “फिरऊनलाई यो कुरो भनीदिनु।

5‘मेरा बाबुको मृत्यु हुनअघि, मैले तिनलाई एउटा वचन दिएको थिएँ। मैले प्रतिज्ञा गरेको थिएँ म तिनलाई कनान भूमिमा दफन गर्नेछु। त्यो उनले आफ्नो निम्ति तयार पारेको ओडार हो। यसर्थ मेरा बाबुको अन्तिम संस्कार गर्न मलाई त्यहाँ जानु दिनु होस्। त्यसपछि म तपाईं कहाँ फर्केर आउने छु।”‘

Genesis 50 illustration - Genesis Chapter 50

6फिरऊनले उत्तर दिए, “आफ्नो प्रतिज्ञा पालन गर। जाऊ अनि बाबुको अन्तिम संस्कार गर।”

7यसकारण यूसुफ आफ्नो बाबुको अन्तिम संस्कार गर्न गए। फिरऊनका अधिकारीहरू, फिरऊनका अग्रजहरू अनि मिश्रका अग्रजहरू समस्त यूसुफसित गए।

8तिनीसित आफ्ना सबै दाज्यू-भाइहरू अनि तिनका बाबुका समस्त परिवारका मानिसहरू गए। गोशेन भूमिमा खाली नानीहरू र पशुहरू मात्र थिए।

9मानिसहरूको त्यहाँ एउटा विशाल घुइँचो भयो। त्यहाँ रथहरूमा र घोडसवार भएका सिपाहीहरू पनि थिए।

10तिनीहरू यर्दन नदीको पूर्व गोरेन आतादमा गए। तब तिनीहरू यर्दन नदीको पूर्वतिर आतादको खलामा पुगे। तिनीहरूले एउटा ठूलो अनि शोकपूर्ण अन्तिम संस्कार गरे। अनि त्यहाँ यूसुफले सात दिनसम्म आफ्नो बुबाको मृत्यु शोक पालन गरे।

Genesis 50 illustration - Genesis Chapter 50

11जब कनान देशका मानिसहरू जो त्यस आताद खलामा थिए, तिनीहरूले भने, “मिश्र देशवासीहरू कति गहिरो शोक पालन गरिरहेका छन्।” यसर्थ तिनीहरूले त्यस भूमिको नाउँ हाबिल-मिश्रइम राखे।

12यसर्थ याकूबका छोराहरूले आफ्ना बाबुले जे भनेका थिए त्यही गरे।

13तिनीहरूले बुबाको मृत शरीर कनान देशमा ल्याए अनि उसलाई त्यस ओडारमा गाडे जो मकपेला क्षेत्रमा छ अनि जसलाई अब्राहामद्वारा माम्रे नजिक हित्ती, एप्रोनबाट आफ्नो चिहानको लागि उपयोग गर्न किनिएको थियो।

14आफ्नो बुबाको मृत शरीर गाडे पछि यूसुफ सबै मानिसहरूसँगै मिश्र फर्किए जो तिनीसँग गएका थिए।

15याकूबको मृत्यु पछि यूसुफका दाज्यू-भाइहरू चिन्तित भए। तिनीहरूले धेरै वर्षअघि यूसुफसित गरेको कर्मको निम्ति तिनीहरू डराए। तिनीहरूले भने, “हुन सक्छ, हामीले गरेको कर्मको निम्ति यूसुफले अझसम्म हामीलाई घृणा गर्छ।”

Genesis 50 illustration - Genesis Chapter 50

16यसर्थ उसका दाज्यू-भाइहरूले उसलाई यो संदेश पठाए,“तिम्रो बुबा मर्नु अघि उहाँ आफैले यो संदेश तिमीलाई दिनु भनी हामीलाई भन्नु भएको थियो।

17उनले भने, ‘दाज्यू-भाइहरूले तिमीसित गरेको कुकर्मको निम्ति क्षमा दिनु भनी म बिन्ती गर्दछु।’ यसर्थ, यूसुफ, हामीले तिमीसित गरेको कुकर्मको निम्ति दया गरी हामीलाई क्षमा गर। हामी तपाईंका बुबाको परमेश्वरका दासहरू हौं।”त्यस समाचारले यूसुफलाई साह्रै दुःखी तुल्यायो, अनि तिनी खुबै रोए।

18तिनका दाज्यू-भाइहरू तिनीकहाँ गए अनि तिनी अघि निहुरिएर भने, “हामी तपाईंका दास हुनेछौं।”

19तब यूसुफले तिनीहरूलाई भने, “नडराओ। म परमेश्वर होइन। तिमीहरूलाई दण्ड दिने मेरो कुनै अधिकार छैन।

20यो सत्य हो तिमीहरूले मेरो विरूद्धमा हानि गर्ने योजना गरेका थियौ। तर वास्तवमा, परमेश्वरले राम्रोको निम्ति योजना बनाउनु भएको थियो। परमेश्वरको योजना अनुसार धेरै मानिसहरूको जीवन बचाउँन मलाई प्रयोग गर्नु थियो। अनि उहाँको योजना जस्तो थियो त्यस्तै भयो।

Genesis 50 illustration - Genesis Chapter 50

21यसर्थ तिमीहरू नडराओ। म तिमीहरू र तिमीहरूका नानीहरूको हेरचाह गर्नेछु।” यसरी यूसुफले आफ्ना दाज्यू-भाइहरूलाई राम्रा कुराहरू भने। यसले दाज्यू-भाइहरूले धेरै शान्ति पाए।

22यूसुफ उनको परिवारसित मिश्रमा बसे। यूसुफ एक सय दश वर्ष पुगेर मरे।

23यूसुफकै जीवन कालमा एप्रैमको छोरा-छोरी तथा नाता-नातिनीहरू जन्मेका थिए। अनि तिनको छोरो मनश्शेबाट छोरो जन्मियो जसको नाउँ माकीर थियो। यूसुफ माकीरका नानीहरूको मुख हेर्न बाँचिरहे।

24जब यूसुफको मर्ने बेला भएको थियो, उनले आफ्ना दाज्यू-भाइहरूलाई भने, “प्रायः मेरो मृत्युको समय भयो। तर म जान्दछु परमेश्वरले तिमीहरूको हेरचाह गर्नु हुनेछ, अनि यस देशबाट बाहिर लैजानु हुनेछ। परमेश्वरले अब्राहाम, इसहाक र याकूबलाई दिन्छु भनी प्रतिज्ञा गर्नु भएको भूमिमा तिमीहरूलाई लैजानु हुनेछ।”

25तब यूसुफले मानिसहरूलाई एउटा प्रतिज्ञा गर्नु लगाए। उनले भने, “जब परमेश्वरले तिमीहरूलाई त्यो नयाँ भूमिमा लानु हुनेछ त्यस बेला मेरा अस्थिहरू तिमीहरूसित लिएर जानेछौं भनी प्रतिज्ञा गर।”

Genesis 50 illustration - Genesis Chapter 50

26यूसुफ जब एक सय दश वर्ष पुगेपछि तिनको मृत्यु भयो। अन्तिम संस्कारको निम्ति वैद्यहरूले तिनको लाश तयार पारे अनि तिनको शरीरलाई मिश्रमा एउटा कफनमा राखे। 

Chapter Complete

You have read Genesis 50

26 verses