Lumina
Ecclesiastes

Submit to Authority

Ecclesiastes 8·Nepali Bible

1ज्ञानी मानिस जस्तो को छ? कसले वस्तुहरूको अर्थ लगाउनु सक्छ? ज्ञानले चिन्तित अनुहारलाई खुशीमा बदल्न सक्छ।

2म भन्छु, तिमीले सधैं राजाको आज्ञा पालन गर्नुपर्छ। किनकि तिमीले परमेश्वरलाई त्यसो गर्ने वचन दिएका छौ।

3यस विषयमा चिन्तित नहोऊ। जब उहाँले तिमीलाई पठाउनु हुन्छ उहाँलाई छोडिदेऊ। मामला मन नपर्ने भए पनि ढिलो नगर, किनकि राजाले उसको इच्छानुसार आज्ञा गर्नुहुन्छ।

4आज्ञा दिनु राजाको अधिकार हो। अनि यसो गर, उसो गर भनेर उनलाई कसैले भन्न सक्दैन।

5राजाको आज्ञा पालन जसले गर्छ उ सुरक्षित रहन्छ। तर बुद्धिमानीले यसो गर्दा उचित समय जान्दछ, अनि उचित कुरो कहिले गर्ने त्यो पनि जान्दछ।

Ecclesiastes 8 illustration - Ecclesiastes Chapter 8

6त्यहाँ धेरै कष्टहरू भए तापनि मानिससित प्रत्येक कुरा गर्ने सही समय र सही मार्ग छ।

7उसलाई थाहा हुदैन भविष्यमा के हुने हो, किन कि भविष्यमा के हुने हो उसलाई कसैले भन्न सक्दैन।

8कसैले पनि हावालाई आज्ञा दिन अथवा नियन्त्रित गर्न सक्दैन, आफ्नो मृत्यु रोक्ने शक्ति कसैको छैन। युद्धको समयमा एउटा सिपाहीलाई आफ्नो ठाउँ छोडेर आफूले भनेको ठाँउमा जाने स्वतन्त्र हुँदैन। त्यसरी नै यदि कसैले पापहरू गर्छ भने त्यो पापले उसलाई रक्षा गर्न सक्तैन।

9मैले यी सब कुराहरू देखें। यस संसारमा घट्ने सब कुराको बारेमा मैले खुबै गम्भिरता पूर्वक सोचें र देखें कि मानिस अरूमाथि शासन गर्ने शक्ति पाउन सदा संघर्ष गरिरहन्छन् र मानिसलाई कष्ट दिइरहन्छन्।

10मैले दुष्ट मानिसहरूको सजि-सजाउ र विशाल शवयात्रा देखें। देह दफन-क्रिया पछि घर फर्कन लागेका मलामीहरूले त्यस दुष्ट मानिसको गुणगान गरेको पनि सुनें। यस्तो त्यसै शहरमा हुनेगर्छ, जहाँ त्यस दुष्ट मानिसले धेरै किसिमको खराब कामहरू गरेको हुनछन्। त्यो पनि अर्थहीन नै हो।

Ecclesiastes 8 illustration - Ecclesiastes Chapter 8

11कहिले काहीं मानिसहरूले खराब काम गर्छन् त्यसको लागि उसलाई चाँडै दण्ड दिइँदैन। तिनले विस्तारै-विस्तारै दण्ड पाउँदै जान्छन्। त्यसैले गर्दा अरूहरू पनि खराब काम गर्न हिच्किचाउँदैनन्।

12एउटा पापीले सयौं पाप-कर्म गरोस् उसको आयु पनि लामै होस्। तर म यो जान्दछु, परमेश्वरको सम्मान गर्नु असल हो।

13खराब मानिसहरूले परमेश्वरको सम्मान गर्दैनन्। त्यसैले त्यस्ता मानिसहरूले वास्तवमा राम्रो कुराहरू पाउँदैनन्। त्यस्ता कुकर्मीहरू लामो समय सम्म बाँच्दैनन्। घाम अस्ताउने समयको छाया झैं लामो हुँदैन।

14यो धर्तीमा अर्को कुरो पनि छ जुन म ठिक ठान्दिनँ। दुष्ट मानिसलाई दुष्ट कुराहरूनै घट्नु पर्थ्यो अनि असल मानिसलाई असल कुरानै। तर कहिले काहीं असल मानिसलाई दुष्ट कुराहरू घट्छ, र दुष्ट मानिसलाई असल कुराहरू। यो गल्ती भएको जस्तो लाग्छ।

15यसैकारण मैले निश्चय गरें जीवनको आनन्द लिनु सबैभन्दा महत्वपूर्ण कुरो रहेछ। किन? किनकि यस जीवनमा एउटा मानिसले सबभन्दा राम्रो काम गर्नसक्छ, त्यो हो खानु, पिउनु र जीवनको आनन्द लिनु। यसले कमसेकम मानिसलाई यस भूमि उसको जीवन कालमा परमेश्वरले गर्नु भनी जो कठीन काम दिनुभएको छ त्यसको आनन्द लिनामा सहायता मिल्छ।

Ecclesiastes 8 illustration - Ecclesiastes Chapter 8

16यस जीवनमा मानिसहरूले गरेका काम मैले ध्यान पूर्वक अध्यान गरें। मैले देखें मानिसहरू अति नै व्यस्त छन्। ती रात दिन काम गर्छन र प्राय सुत्दैनन् पनि।

17परमेश्वरले गरेका थुप्रै कामहरू पनि मैले देखें। अनि परमेश्वरले जति काम यस भुमिमा गर्नुभयो त्यो मानिसहरूले बुझ्न सक्दैनन्। तिनीहरूले बुझ्न जति कोशिश गरून बुझ्दैनन् कुनै ज्ञानीले परमेश्वरको काम म बुझ्छु भने पनि त्यो साँचो होइन। ती सब कुरा कसैले बुझ्न सक्दैनन्।

Chapter Complete

You have read Ecclesiastes 8

17 verses