Lumina
2Chronicles

Fire from Heaven

2Chronicles 7·Nepali Bible

1जब सुलेमानले प्रार्थना पूर्ण गरे तब आकाशबाट आगो झर्यो अनि होमबलि र बलिदानहरूलाई जलाइ दियो। परमप्रभुको महिमाले मन्दिर भरियो।

2परमप्रभुको महिमाले भरिएको हुनाले पूजाहारीहरू मन्दिर भित्र पस्न सकेनन्।

3इस्राएलका समस्त मानिसहरूले आगोलाई स्वर्गबाट उत्रेको देखे। इस्राएलका मानिसहरूले मन्दिरमा परमप्रभुको महिमा पनि देखे। तिनीहरूले आफ्ना अनुहार आँगनका भूँइ तिर झुकाए। तिनीहरूले परमप्रभुको आराधना गरे अनि धन्यवाद ज्ञापन गरे। तिनीहरूले गीत गाए परमप्रभु असल हुनुहुन्छ। उहाँको करूणा सदा सर्वदा चलिरहन्छ।

4त्यस पछि राजा सुलेमान अनि इस्राएलका समस्त मानिसहरूले परमप्रभुको समक्ष बलिदान चढाए।

5राजा सुलेमानले 22,000 गोरूहरू अनि 1,20,000 भेडा अर्पण गरे। राजा र सबै मानिसहरूले परमेश्वरको मन्दिरलाई सर्मपन गरे। यो परमेश्वरको आराधना गर्नका निम्ति मात्र प्रयोग गरिन्थ्यो।

2Chronicles 7 illustration - 2Chronicles Chapter 7

6पूजाहारीहरू आफ्ना कार्य गर्न तयार खडा भए। लेवीहरू पनि परमप्रभुको संगीतका यन्त्रहरू सहित खडा भए। ती यन्त्रहरू परमप्रभुको धन्यवाद चढाउनका निम्ति राजा दाऊदले बनाएका थिए। पूजाहारी अनि लेवीहरूले गाउँदै परमप्रभुको स्तुति गरे किनभने उहाँको प्रेम सदा सर्वदा चलिरहन्छ। लेवीहरू देखि अर्को तिर पूजाहारीहरू उभिंदै तिनीहरूले आफ्ना तुरही बजाए। अनि इस्राएलका सबै मानिसहरू उभिएका थिए।

7सुलेमानले आँगनको मध्य भाग पवित्र बनाए। त्यो आँगन परमप्रभुको मन्दिरको सामुन्ने थियो। त्यो त्यही स्थान हो जहाँ सुलेमानले होमबलि अनि मेल बलिको बोसो अर्पण गरे। सुलेमानले आँगनको मध्य अंश प्रयोग गरे किनभने तिनले निर्माण गरेको काँसाको वेदीमा सबै होमबलि, अन्नबलि अनि बोसोहरू अँटाउन सकेन। त्यस्ता भेटीहरू अनेक थिए।

8सुलेमान अनि इस्राएलका समस्त मानिसहरूले सात दिन सम्म भोज उत्सब मनाए। सुलेमानका साथ विशाल जन समूह थिए। ती मानिसहरू लीवो-हमातको शहर देखि फैलीएर मिश्रदेशको खोल्चासम्मका क्षेत्रबाट आएका थिए।

9आठौं दिनमा तिनीहरूले एक पवित्र सभा राखे किनभने तिनीहरूले सातदिन सम्म भोज उत्सव मनाएका थिए। तिनीहरूले वेदीलाई सर्मपण अनि यसको समर्पणको उत्सव अझ सात दिनसम्म मनाए।

10सातौं महीनाको तेईसौं दिनमा सुलेमानले मानिसहरूलाई घर फर्काइ पठाए। मानिसहरू अत्यन्तै र्हषित थिए अनि तिनीहरूको हृदय आनन्दले परिपूर्ण थियो, किनभने परमप्रभु दाऊद प्रति, सुलेमान प्रति अनि आफ्ना इस्राएली मानिसहरू प्रति अत्यन्त असल हुनुहुन्थ्यो।

2Chronicles 7 illustration - 2Chronicles Chapter 7

11सुलेमानले परमप्रभुको मन्दिर अनि राज-महलको निर्माण कार्य पुरा गरे। सुलेमानले परमप्रभुको मन्दिर अनि आफ्नो महलको निर्माण कार्य पूर्ण गर्नका निम्ति जे जति योजना बनाएका थिए त्यसमा तिनलाई सफलता प्राप्त भयो।

12तब परमप्रभु राती सुलेमान कहाँ आउनु भयो। परमप्रभुले तिनलाई भन्नुभयो, “सुलेमान, मैले तेरो प्रार्थना सुनेको छु, अनि मैले यो स्थानलाई आफ्नै निम्ति बलि-गृहको रूपमा चुनेकोछु।

13जब म आकाशलाई बन्द गर्छु तब वर्षा हुँदैन वा म सलहलाई देशको ध्वंश गर्ने आदेश दिन्छु वा म मेरा मानिसहरू कहाँ महामारी पठाउँछु।

14अनि यदि मेरो मानिसहरू, जसलाई मेरो नाउँद्वारा पुकारिन्छ, तिनीहरू आफै विनम्र भई प्रार्थना गर्छन्, र यदि तिनीहरूले मलाई खोज्छन् अनि आफ्ना नराम्रा बाटोबाट तिनीहरू हट्छन् भने, तब म स्वर्गबाट तिनीहरूलाई सुन्नेछु। अनि म तिनीहरूको पापलाई क्षमा गरिदिने छु अनि तिनीहरूको भूमिलाई निको पारी दिनेछु।

15अब, मेरा आँखा खुल्लाछन् अनि मेरा कानले यस स्थानमा गरिएका प्रार्थनाहरू प्रति ध्यान दिने छन्।

2Chronicles 7 illustration - 2Chronicles Chapter 7

16मैले यो मन्दिर चुनेकोछु मैले यसलाई पवित्र तुल्याएको छु जस द्वारा मेरो नाउँ सदा-सर्वदा यहाँ रहिरहनेछ। हो, मेरा आँखा अनि हृदय सदैव यहाँ यो मन्दिरमा रहनेछ।

17“अब सुलेमान, यदि तँ मेरो सामुन्ने तेरो पिता दाऊद बसे जस्तै बसिस् भने अनि मैले दिएका सबै आदेशहरू तैंले पालन गरिस् भने, यदि तैंले मेरा व्यवस्था अनि नियमहरूको पालन गरिस् भने।

18तब म तँलाई एक शक्तिशाली राजा बनाउँने छु अनि तेरो राज्य महान बन्नेछ। मैले तेरा पिता सँग गरेको करार त्यही हो। मैले त्यसलाई भने थें, ‘दाऊद, तैंले आफ्नो परिवारमा एक यस्तो व्यक्ति सदैव पाउने छस् जो इस्राएलमा राजा हुनेछ।’

19“तर, यदि तैंले मैले गरेका मेरा व्यवस्था अनि आदेशहरू पालन गर्दैनस् भने यदि तैंले अन्य देवताहरूको पूजा गर्छस् अनि तिनीहरूको सेवा गर्छस् भने।

20तब म इस्राएलका मानिसहरूलाई मैले तिमीहरूलाई दिएको देशबाट बाहिर निकाल्ने छु। अनि म यो मन्दिरलाई त्याग्ने छु जसलाई मैले आफ्ना नाउँका निम्ति पवित्र तुल्याएको छु। म यो मन्दिरलाई केही यस्तो बनाउने छु जसमा कि सबै राष्ट्रहरूले यसको बारेमा नराम्रा कुरा गर्ने छन्।

2Chronicles 7 illustration - 2Chronicles Chapter 7

21प्रत्येक व्यक्ति, जो यो मन्दिर भएर पार हुन्छ जो यति उच्च रूपले सम्मानित थियो, आश्चर्यमा पर्ने छ। तिनीहरूले भन्ने छन्, ‘परमप्रभुले यो देश अनि यो मन्दिर माथि किन यस्तो भयानक कुरो गर्नु भयो?’

22त्यस बेला मानिसहरूले उत्तर दिने छन्, ‘किनभने इस्राएलका मानिसहरूले परमप्रभु परमेश्वर तिनीहरूको पिता-पूर्खाहरूका परमेश्वरलाई त्यागे। उहाँ उही परमेश्वर हुनुहुन्छ जसले तिनीहरूलाई मिश्रदेश देखि बाहिर ल्याउनमा अगुवाइ गर्नु भएको थियो। तर इस्राएलका मानिसहरूले अन्य देवताहरूलाई स्वीकार गरे। तिनीहरूले ती अन्य देवताहरूको पूजा अनि सेवा गरे। त्यही कारण हो कि परमप्रभुले इस्राएली मानिसहरूमाथि यी सबै भयानक कुराहरू घट्न दिनु भयो।”

Chapter Complete

You have read 2Chronicles 7

22 verses