Lumina
2Chronicles

Ahaz's Wickedness

2Chronicles 28·Nepali Bible

1आहाज बीस वर्षका थिए जब तिनी राजा भए। तिनले यरूशलेममा सोह्र वर्ष सम्म शासन गरे। आहाज आफ्ना पुर्खा दाऊद जस्तै ठीक सित बसेनन्। आहाजले ती कुराहरू गरेनन् जो परमप्रभु तिनले गरेका चाहनु हुन्थ्यो।

2आहाजले इस्राएलका राजाहरूको नराम्रो उदाहरण अनुसरण गरे। तिनले बाल देवताहरूको पूजा गर्नका निम्ति मूर्ति निर्माण गर्न साँचाहरूको प्रयोग गरे।

3आहाजले बेन-हिन्नोम बेंसीमा धूप जलाए। तिनले आफ्नै छोराहरूलाई आगोमा जलाएर बलि चढाए। तिनले त्यस्तै भयानक पापहरू गरे जस्तो पाप त्यस देशमा बस्ने मानिसहरूले गरेका थिए। परमप्रभुले ती मानिसहरूलाई त्यहाँबाट बाहिर निक्लन विवश पार्नु भएको थियो, जब इस्राएलका मानिसहरू त्यस देशमा आएका थिए।

4आहाजले उच्च स्थानहरूमा, पहाडहरूमा अनि हरेक हरियो वृक्ष मुनि बलिहरू चढाए र धूप बाले।

5आहाजले पाप गरे, यसर्थ परमप्रभु तिनका परमेश्वरले अरामका राजालाई आहाजलाई परास्त गर्न दिनु भयो। अरामका राजा अनि तिनका सेनाले आहाजलाई परास्त गरे अनि यहूदाका अनेक मानिसहरूलाई बन्दी बनाए। अरामका राजाले ती बन्दीहरूलाई दमीशक शहरमा लगे। परमप्रभुले इस्राएलका राजा पेकहलाई पनि आहाजलाई परास्त गर्न दिनु भयो। पेकहका पिताको नाउँ रमल्याह थियो। पेकह अनि तिनका सेनाले यहूदाका 1,20,000 साहसी सैनिकहरूलाई एकै दिनमा मारे।

2Chronicles 28 illustration - 2Chronicles Chapter 28

6पेकहले ती यहूदाका मानिसहरूलाई परास्त गरे किनभने तिनीहरूले तिनीहरूका पुर्खाहरूले आज्ञा पालन गर्ने परमप्रभु परमेश्वरको आज्ञा पालन गर्न छाडेका थिए।

7जिक्री एप्रैमका एक साहसी सैनिक थिए। जिक्रीले राजा आहाजका छोरा मासेयाह राज महलको जिम्मामा रहेको अधिकारी अज्रीकाम अनि एल्कानालाई मारे। एल्काना राजा देखि दोस्रो शक्तिका थिए।

8इस्राएली सेनाले यहूदामा बस्ने तिनीहरूको आफ्नै 2,00,000 आफन्तहरू पक्रे। तिनीहरूले स्त्री, केटा-केटीहरू अनि मूल्यवान वस्तुहरू यहूदाबाट लगे। इस्राएलीहरूले ती बन्दीहरू अनि ती बस्तुहरूलाई सामरिया शहरमा ल्याए।

9तर त्यहाँ परमप्रभुको एउटा अगमवक्ता थिए। यो अगमवक्ताको नाउँ ओबेद थियो। ओबेदले ती इस्राएली मानिसहरूसित भेट गरे जो सामरिया फर्की आएका थिए। ओदेदले इस्राएली सेनालाई भने, “तिमीहरूका पुर्खाहरूले आज्ञा पालन गर्ने परमप्रभु परमेश्वरले तिमीहरूलाई यहूदाका मानिसहरूलाई परास्त पार्न दिनु भएको थियो किनभने उहाँ तिनीहरूसित क्रोधित हुनुहुन्थ्यो। तिमीहरूले यहूदाका मानिसहरूलाई अति नीच प्रकारले मार्यौ अनि दण्ड दियौ अब परमेश्वर तिमीहरूसित क्रोधित हुनुहुन्छ।

10तिमीहरूले यहूदा र यरूशलेमका मानिसहरूलाई दासको रूपमा राख्ने योजना गरेका छौ। तिमीहरूले तिमीहरूका परमप्रभु परमेश्वरको विरूद्ध पनि पाप गरेका छौ।

2Chronicles 28 illustration - 2Chronicles Chapter 28

11मेरो कुरा सुन। तिम्रा दाज्यू-भाइ अनि दिदी-बहिनीहरू जसलाई तिमीहरूले पक्रेका छौ, फर्काइ पठाऊ। यो काम गरिहाल किनभने परमप्रभुको भयानक क्रोध तिमीहरूको विरूद्ध छ।”

12तब एप्रैमका केही प्रमुखहरूले इस्राएली सेनालाई युद्ध देखि घर फर्किएर आएका देखे। ती प्रमुखहरूले इस्राएली सैनिकहरूसित भेट गरे अनि तिनीहरूलाई चेताउनी पनि दिए। ती प्रमुखहरू योहानानका छोरा अजर्याह, मशिल्लेमोतको छोरा बेरेक्याह, शल्लूमका छोरा हिजकियाह अनि हद्लेका छोरा अमासा थिए।

13ती प्रमुखहरूले इस्राएली सैनिकहरूलाई भने, “यहूदाका कैदीहरूलाई यहाँ नल्याऊ। यदि तिमीहरूले त्यसो गर्यौ भने यसले हामीलाई परमप्रभुको विरूद्ध घोर पाप गरेको तुल्याउने छ। त्यसले हाम्रा पाप अनि दोषहरूलाई अधिक नराम्रो तुल्याउने छ अनि परमप्रभु इस्राएलको विरूद्ध अत्यन्त क्रोधित हुनुहुने छ।”

14यसर्थ, सैनिकहरूले ती कैदीहरू अनि मूल्यवान वस्तुहरू ती प्रमुखहरू अनि इस्राएलका मानिसहरूलाई दिए।

15ती प्रमुखहरू अजर्याह, बेरेक्याह, हिजकियाह अनि अमासा उठे अनि कैदीहरूलाई सहायता गरे। यी चार व्यक्तिहरूले वस्त्रहरू लिए जो इस्राएली सैनिकहरूले ल्याएका थिए अनि ती वस्त्रहरू, ती मानिसहरूलाई दिए जो नग्न थिए। ती प्रमुखहरूले ती मानिसहरूलाई जुत्ताहरू पनि दिए। तिनीहरूले यहूदाका कैदीहरूलाई केही खान अनि पिउन दिए। तिनीहरूले ती मानिसहरूको घाउलाई नरम पार्न अनि निको तुल्याउन तेल मालिस गरि दिए। त्यस पछि एप्रैमका ती प्रमुखहरूले कमजोर कैदीहरूलाई गधामा चढाए र तिनीहरूलाई खजूर बृक्षको शहर यरीहोमा तिनीहरूका परिवारहरू कहाँ घर फर्काइ लगे। तब ती चार जना प्रमुखहरू घर तर्फ सामरिया फर्के।

2Chronicles 28 illustration - 2Chronicles Chapter 28

16त्यस समयमा, एदोमका मानिसहरू फेरि आए अनि यहूदाका मानिसहरूलाई परास्त गरे।

17एदोमीहरूलाई मानिसहरूले पक्रे अनि तिनीहरूलाई कैदीको रूपमा लगेर गए। यसर्थ राजा आहाजले अश्शूरका राजासित तिनलाई सहायता गर्नु भनी याचना गरे।

18पलिश्ती मानिसहरूले पनि पहाडहरू अनि दक्षिण यहूदाका शहरहरू माथि आक्रमण गरे पलिश्तीहरूले बेत-शेमेश, अय्यालोन, गदेरोत, सोको, तिम्ना अनि गिम्जो शहरहरू कब्जामा लिए। तिनीहरूले ती शहरहरू नजिकका गाउँहरू पनि अधिकारमा लिए। त्यस पछि ती पलिश्तीहरू ती शहरहरूमा बसे।

19परमप्रभुले यहूदालाई दुःख-कष्ट दिनु भयो किनभने यहूदाका राजा आहाजले यहूदाका मानिसहरूलाई पाप गर्नमा उत्साहित तुल्याएका थिए। तिनी परमप्रभु प्रति अत्यन्त अविश्वासनीय थिए।

20अश्शूरका राजा तिग्लत पिलेसेर आए अनि आहाजलाई सहायता गर्नका सट्टा कष्ट दिए।

2Chronicles 28 illustration - 2Chronicles Chapter 28

21आहाजले परमप्रभुको मन्दिरबाट र राज महलबाट अनि राज कुमार-महलबाट केही मूल्यवान वस्तुहरू निकाले। आहाजले ती बस्तुहरू अश्शूरका राजालाई दिए। तर त्यसले आहाजलाई केही सहायता भएन।

22आहाजको कष्टमा तिनले अझ नराम्रो पाप गरे अनि परमप्रभु प्रति अझ अधिक अविश्वासनीय भए।

23तिनले दमीशकका मानिसहरूले पूजा गर्ने देवताहरूलाई बलि अर्पण गरे। दमा (तामामा छालाले बेरिएको बाजा) दमीशकका मानिसहरूले आहाजलाई परास्त पारेका थिए। यसर्थ तिनले आफै सोचे, “अरामका मानिसहरूले पूजा गर्ने देवताहरूले तिनीहरूलाई सहायता गरे। यसर्थ यदि मैले ती देवताहरूलाई बलि अर्पण गरें भने हुन सक्छ तिनीहरूले मलाई पनि सहायता गर्ने छन्।” आहाजले ती देवताहरूको पूजा गरे। यस प्रकारले तिनले पाप गरे अनि तिनले इस्राएलका मानिसहरूलाई पाप गर्न लगाए।

24आहाजले परमेश्वरको मन्दिरबाट चीज-बीज जम्मा गरे अनि तिनीहरूलाई टुक्रा-टुक्रा पारे। त्यसपछि तिनले परमप्रभुको मन्दिरको ढोका बन्द गरिदिए। तिनले वेदीहरू बनाए अनि तिनीहरूलाई यरूशलेमको हरेक सडकका कुना कुनामा राखे।

25यहूदाका प्रत्येक शहरमा आहाजले अरू देवताहरूको पूजा गर्नका निम्ति धूप बाल्न उच्च स्थानहरू निर्माण गरे। आहाजले तिनका पुर्खाहरूले आज्ञा पालन गर्ने परमप्रभु परमेश्वरलाई अत्यन्त क्रोधित तुल्याए।

2Chronicles 28 illustration - 2Chronicles Chapter 28

26आहाजले शुरू देखि अन्त सम्म गरेका अन्य कुराहरू यहूदा अनि इस्राएलका राजाहरूका इतिहास पुस्तकमा लेखिएका छन्।

27आहाजको मृत्यु भयो अनि तिनका पुर्खाहरू सित गाडिए। मानिसहरूले आहाजलाई यरूशलेम शहरमा गाडे। तर तिनीहरूले आहाजलाई त्यो चिहानमा गाडेनन् जहाँ इस्राएलका राजाहरूलाई गाडिन्थ्यो। हिजकियाह आहाजका स्थानमा नयाँ राजा भए। हिजकियाह आहाजका छोरा थिए।

Chapter Complete

You have read 2Chronicles 28

27 verses