Lumina
1Samuel

David Spares Saul Again

1Samuel 26·Nepali Bible

1जीपीका मानिसहरू शाऊललाई भेट्न गिबा गए। तिनीहरूले शाऊललाई भने, “हकीलाको पहाडमा दाऊद लुक्दैछ। यो पहाड यशीमोन देखि पारि पर्छ।”

2शाऊल जीपको मरूभूमितिर गए। शाऊलले 3,000 सेनाहरू इस्राएलबाट छानेर लगे। शाऊल र उसका सेनाहरूले जीपको मरूभूमितिर दाऊदलाई खोजे।

3शाऊलले उसको छाउनी हकीलाको पहाडमाथि बाटोको छेउमा यशीमोन तिर फर्काएर बनाए। दाऊद त्यही मरूभूमिमा थिए। शाऊलले पीछा गर्दैछन् भन्ने कुरा तिनलाई थाहा थियो।

4यसर्थ दाऊदले चेवाहरू पठाए। दाऊदलाई थाहा लाग्यो शाऊल हकीलामा छ भनेर।

5दाऊद शाऊलको छाउनीमा गए। शाऊल र अबनेर कहाँ सुतिरहेका थिए दाऊदले देखे। (नेरका छोरो अबनेर शाऊलका सेनाको सेनापति थिए।) शाऊल छाउनीको बीचमा सुते। सेनाहरू शाऊलको वरिपरि सुती रहेका थिए।

1Samuel 26 illustration - 1Samuel Chapter 26

6दाऊदले हित्ती अहीमेलेक र सरूयाहका छोरा अबीशैसित बात गरे। (अबीशै योआबका भाइ थिए।) तिनले भने, “मसँग शाऊलको छाउनीमा को जान्छ?”अबीशैले जवाफ दिए, “म तपाईंसँग जानेछु।”

7जब रात पर्यो दाऊद र अबीशै शाऊलको छाउनीमा गए। शाऊल छाउनीको मध्य भागमा मस्त सुतिरहेका थिए। तिनको भाला तिनको शिर नेर भूँईमा गाडिएको थियो। अबनेर अरू सैनिकहरूसंगै शाऊलको वरिपरी मस्त सुतिरहेका थिए।

8अबीशैले दाऊदलाई भने, “आज परमेश्वरले तपाईंको शत्रुलाई तपाईंको हातमा सुम्पिनु भएकोछ उसको भालाले उसैलाई रोप्न मलाई दिनुहोस्। म एकै खेपमा काम सिध्याउँछु।”

9तर दाऊदले अबीशैलाई भने, “शाऊललाई नमार! परमेश्वरले छान्नु भएको राजालाई घात गर्दा दण्ड पाइन्छ।

10साँच्चै नै परमेश्वर जीवित हुनुहुन्छ परमप्रभु आफैले शाऊललाई दण्ड दिनुहुनेछ। शाऊल युद्ध भूमिमा मरोस अथवा स्वभाविक मृत्यु होस्।

1Samuel 26 illustration - 1Samuel Chapter 26

11तर म परमप्रभुले उहाँका चुनिएका राजालाई केही नोक्सान नपुर्याउन भनी उहाँलाई विन्ति गर्छु। शाऊलको शिरमा भएको भाला र पानीको सुराही उठाउ अनि हामी जानेछौ।”

12यसरी दाऊदले भाला र पानीको सुराही शाऊलको शिरकै छेउबाट लिए। त्यसपछि दाऊद र अबीशै छाउनीबाट निस्किए। तिनीहरूले के गरे कसैले पनि थाहा पाएन। न कसैले देख्यो न त कोही ब्यूँझ्यो। शाऊल र तिनका सैनिकहरू गहिरो निद्रामा परेको कारण परमप्रभुले नै तिनीहरूलाई गहिरो निद्रामा पारिदिनुभएको थियो।

13दाऊद बेंसी पार गरेर पारिपट्टि पुगे। शाऊलको छाउनीबाट पारी पहाडको टाकुरामा पुगे। दाऊद र शाऊलका छाउनीहरू धेरै टाढा-टाढा थिए।

14दाऊदले सेना र खास गरी नेरका छोरा अबनेरलाई ठूलो स्वरमा कराएर भने, “अबनेर, मलाई जवाफ देऊ!”अबनेरले जवाफ दिए, “तिमी को हौ? किन महाराजलाई डाकिरहेछौ?”

15दाऊदले भने, “तिमी मानिस हौ, कि होइनौ? अनि इस्राएल भरी सबभन्दा महान तिमी नै छौ। के यो सत्य होइन? त्यसो हो भने आफ्नो प्रभु महाराजको रक्षा किन ठिकसित गरेनौ? एउटा साधारण मानिसले तिम्रो राजालाई मार्न छाउनी भित्र आयो।

1Samuel 26 illustration - 1Samuel Chapter 26

16तिमीले एकदमै नराम्रो काम गर्यौ। जस्तो कि परमप्रभु जीवित हुनुहुन्छ, तिमी र तिम्रा मानिसहरू मर्नु पर्छ। किनभने तिमीहरूले आफ्ना परमप्रभुका अभिषिक्त राजाको रक्षा गरेनौ। अब हेर राजाको सिरानी छेउको भाला र पानी पिउने सुराही। खोई कहाँ छन्?”

17शाऊलले दाऊदको स्वर चिने। शाऊलले भने, “मेरो छोरा दाऊद के यो स्वर तिम्रो हो?”दाऊदले जवाफ दिए, “ज्यू, यो मेरै आवाज हो, मेरो प्रभु महाराजा।”

18दाऊदले फेरि भने, “हे मेरा प्रभु, तपाईंले मेरो खेदो किन गर्नु हुदैछ? मैले के भूल गरें? मेरो के कसुर छ?

19हे मेरो मालिक राजा म तपाईंको नोकरलाई सुन्नु होस् यदि परमप्रभुले नै तपाईंलाई म माथि रिस उठाउनुभएको हो भने एउटा भेट स्वीकार गरिदिनुहोस्। तर यदि मानिसले तपाईंलाई म माथि रिस उठाउनु भएको हो भने, परमप्रभुले तिमीहरूलाई केही नराम्रो गर्नुहुनेछ। परमप्रभुले दिनुभएको भूमि त्याग्न मलाई मानिसहरूले जबरजस्ती गरे। तिनीहरूले मलाई भने, ‘जाऊ र विदेशीसँग बस र विदेशी देवतालाई पूजागर।’

20मलाई परमप्रभुबाट टाढा मर्न नदेऊ। इस्राएलका राजा झींङ्गाको पछि लाग्दैछ। तपाईं पहाडमा भ्यागुत्ताहरूको पछि लागेको मानिस जस्तो हुनुभयो।”

1Samuel 26 illustration - 1Samuel Chapter 26

21तब शाऊलले भने, “मैले पाप गरें। मेरो छोरा दाऊद यता आऊ आज मलाई प्रमाण गरेर देखाइ देऊ। तिम्रो निम्ति मेरो ज्यान महत्वपूर्ण छ। अब म तिमीलाई चोट पुर्याउने छैन। मैले मूर्खले झैं ठूलो भूल गरें।”

22दाऊदले जवाफमा भने, “राजाको भाला यहाँ छ। यो लिन कुनै एक जना जवानलाई पठाउनुहोस्।

23परमप्रभुले हरेक मानिसहरूलाई उसको धार्मिकता र विश्वसनीयताको निम्ति इनाम दिनुहुन्छ। उहाँले राम्रो काम गर्ने मानिसलाई इनाम दिनुहुन्छ र नराम्रो कार्य गर्नेलाई दण्ड दिनुहुन्छ। परमप्रभुले तपाईंलाई हराउन आज मलाई मौका दिनुभयो। तर म परमप्रभुका अभिषिक्त राजालाई हानि गर्न चाहदिन।

24आज मैले प्रमाण गरें कि मेरो निम्ति तपाईंको जीवन महत्वपूर्ण छ। यस्तै प्रकार परमप्रभुले पनि देख्नु हुनेछ मेरो प्राण उहाँलाई महत्वपूर्ण छ। परमप्रभुले मलाई प्रत्येक खतराबाट बचाउँनु हुनेछ।”

25त्यसपछि शाऊलले दाऊदलाई भने, “परमेश्वरले तिमीलाई आशीर्वाद दिउन्, मेरो छोरा दाऊद। तिमीले ठूला-ठूला कार्यहरू गर्नेछौ र सफलता पनि पाउँनेछौ।”दाऊद आफ्नो बाटो लागे र शाऊल घरतिर फर्किए।

Chapter Complete

You have read 1Samuel 26

25 verses