Lumina
1John

1John 4

1John 4·Nepali Bible

1मेरा प्रिय मित्रहरु, अनेक झूटा अगमवक्ताहरु अहिले यो संसारमा छन्। यसर्थ प्रत्येक आत्मालाई विश्वास नगर। तर आत्माहरुलाई जाँच्ने गर कि तिनीहरु परमेश्वरबाट आएका हुन् वा होइनन्।

2परमेश्वरको आत्मा तिमीहरु कसरी चिन्न सक्छौ? “यस्तो प्रकारले तिमीहरुले परमेश्वरको आत्मा चिन्न सक्छौ। प्रत्येक आत्मा जसले येशूलाई ख्रीष्ट भनी स्वीकार गर्छ अनि उनी मानव रुपमा पृथ्वीमा आउनु भयो उ परमेश्वरबाट हो।”

3अनि प्रत्येक आत्मा जसले येशूको बारेमा यो स्वीकार्दैन, त्यो परमेश्वरबाट होइन। यो ख्रीष्टको शत्रुको आत्मा हो। तिमीहरुले सुनेका छौ कि ख्रीष्टको शत्रु आउँदैछ। अनि अहिले ख्रीष्ट विरोधी यो संसारमा आइसकेको छ।

4मेरा प्रिय बालकहरु, तिमीहरु परमेश्वरका हौ। यसर्थ तिमीहरुले झूटो शिक्षकहरुलाई परास्त गरेका छौ। किनभने जो तिमीहरुमा हुनुहुन्छ उहाँ संसारमा हुने भन्दा महान् हुनुहुन्छ।

5अनि ती झूटो शिक्षकहरु संसारका हुन्। यसैले तिनीहरुको शिक्षा पनि संसारकै हो। अनि तिनीहरु जे भन्छन् संसारले सुन्छ।

1John 4 illustration - 1John Chapter 4

6तर हामी परमेश्वरबाट हौं अनि प्रत्येक जसले परमेश्वरलाई चिन्छ, अनि सुन्छ। त्यसरी हामी कुन आत्मा सत्य हो र कुन झूटो हो चिन्छौं।

7प्रिय मित्रहरु, हामीले एक अर्कालाई प्रेम गर्नुपर्छ, किनभने प्रेम परमेश्वरबाट आउँछ। जसले प्रेम गर्छ परमेश्वरको बालक भएको हुन्छ अनि परमेश्वरलाई चिन्छ।

8मानिस जसले प्रेम गर्दैन उसले परमेश्वरलाई चिन्दैन, किनभने परमेश्वर प्रेम हुनुहुन्छ।

9यसरी परमेश्वरले हामीलाई उहाँको प्रेम दर्शाउनु भएको छ परमेश्वरले उहाँको एउटै पुत्र यस संसारमा पठाउनु भयो यसर्थ उहाँ मार्फत हामी जीवन पाउन सक्छौं।

10सत्य प्रेम हाम्रो निम्ति परमेश्वरको प्रेम हो, परमेश्वरको निम्ति हाम्रो प्रेम होइन। परमेश्वरले हामीलाई प्रेम गर्नु भयो अनि जुन माध्यमले हाम्रो पापहरु मोचन गर्न सकिन्छ त्यसका निम्ति आफ्नो पुत्र पठाउनु भयो।

1John 4 illustration - 1John Chapter 4

11प्रिय मित्रहरु, जब परमेश्वरले हामीलाई प्रेम गर्नु हुन्छ। हामीले एक अर्कालाई प्रेम गर्नु पर्छ।

12कसैले पनि परमेश्वरलाई कहिल्यै देखेका छैनन्। तर यदि हामीले एक-अर्कालाई प्रेम गरयौं भने तब परमेश्वर हामीमा रहनुहुन्छ अनि उहाँको प्रेम हामीमा पक्का बनिनेछ।

13हामीलाई थाहा छ कि हामी परमेश्वरमा रहन्छौ अनि परमेश्वर हामीमा रहनु हुन्छ। हामी यो जान्दछौं किनभने परमेश्वरले हामीलाई उहाँको आत्मा प्रदान गर्नु भएको छ।

14हामीले देख्यौ कि पिताले आफ्ना पुत्रलाई संसारको उद्धारकर्त्ताको रुपमा पठाउनु भयो अनि त्यही कुरा हामी मानिसहरुमा गवाही दिन्छौ।

15यदि कुनै व्यक्तिले भन्छ, “म विश्वास गर्छु कि येशू परमेश्वरका पुत्र हुनुहुन्छ” तब परमेश्वर त्यस व्यक्तिमा रहनु हुन्छ। अनि त्यो मानिस परमेश्वरमा रहन्छ।

1John 4 illustration - 1John Chapter 4

16अनि यसरी परमेश्वरको प्रेम हामीप्रति रहेको जान्दछौं। अनि हामी त्यो प्रेममा विश्वास गर्छौं। परमेश्वर प्रेम हुनुहुन्छ। मानिस जो प्रेममा रहन्छ उ परमेश्वरमा रहेको हुन्छ। अनि परमेश्वर त्यस व्यक्तिमा रहनुहुन्छ।

17यदि हामीमा परमेश्वरको परिपक्क प्रेम भए तब त्यो दिन जब उनी जाँचकोलागि आउनु हुन्छ हामीमा डर रहने छैन कारण यो संसारमा उहाँ हामी जस्तै हुनुहुन्छ।

18जहाँ परमेश्वरको प्रेम हुन्छ त्यहाँ भय हुँदैन। किनभने परमेश्वरको सम्पूर्ण प्रेमले भय हटाइदिन्छ। परमेश्वरको दण्ड नै भयको कारण हो। यसरी जुन व्यक्तिमा भय रहन्छ तिनमा परमेश्वरको प्रेम सिद्ध भएको हुँदैन।

19हामी प्रेम गर्छौ किनभने परमेश्वरले पहिला हामीलाई प्रेम गर्नु भयो।

20यदि कसैले भन्छ “म परमेश्वरलाई प्रेम गर्छु” तर आफ्ना भाइ अथवा बहिनीहरुलाई घृणा गर्छ भने त्यो मानिस झूटो हो। यदि आफ्नो भाइ अथवा बहिनी जसलाई उसले देख्न सक्छ, उसले प्रेम गर्न सक्तैन भने परमेश्वर जसलाई उसले कहिल्यै देखेकै छैन, कसरी प्रेम गर्न सक्छ?

1John 4 illustration - 1John Chapter 4

21अनि परमेश्वरले हामीलाई आदेश दिनु भएको छ मानिस जसले परमेश्वरलाई प्रेम गर्छ उसले आफ्नो भाइलाई पनि प्रेम गर्नुपर्छ।

Chapter Complete

You have read 1John 4

21 verses